
मेरो बुवा, मिलन राई( नक्कली व्याकुल माइला) र म (आज सम्मकै मेरो जीवनको रहस्य र गोपनियताको उजागर
Share
मेरो बुवा(उहाँ सँगको बातचितको आधारमा)
Author: Nabin Hangkhim
मेरो बुवा २०२७ सालको तत्कालिन गाउँ पन्चायतकै पहिलो एस. एल. सि. ग्रेजुएट । मेरा बाजे लगाएत गाउका अगुवा बाजेहरुले सिक्किम,दार्जिलिङ बाट गाउले मिलेर गाँस,बास र तलब दिने सर्तमा शिक्षक ल्याएर स्कुल स्थापना गर्नुभएको थियो। शिक्षकको दुख भए पछि बाजेको सल्लाहमा बुवाले गाउकै स्कुलमा शिक्षण पेशा सुरु गर्नु भयो। बाजेको ४२ बर्षकै उमेरमा स्कुल स्थापना गर्ने धपेडी मै कतै जादा रेबिजले मृत्यु भएपछी पारिवारिक बोझ पनि आफ्नो काँधमा। बुवाको दाजु भाईमा एकै जना मात्र भाई। काका युवक भए पछि तत्कालिन गल्लावाला( लाहुर पठाउने ब्याक्ती) लाई शिक्षण पेशाबाट आर्जेको राम्रै दाना पानी दिएर बृटिस गोर्खा भर्ती पठाउन सफल। भाई लाहुरे भए पछि बुवाको महत्वाकांक्षा बढेछ। बाजे र साकु बाजेले आर्जेको सम्पती जोहो गरि आफ्नी साइली बहिनिको सहयोगमा उदयपुरमा जग्गा किन्नुभयो।
भाईले पनि लाहुरबाट जग्गाको दामको आधी पैसा पठाइ दिए। बुवाको महत्वाकांक्षा अनियन्तृत चुलिन्दै गयो। भाईले पठाएको पैसा रवाफ र मनोरन्जनमा उडाउनु भयो। भात खाने खेत किनिहालियो। काठको घर र खाने पानीको इनार साइली बहिनि र ज्वाइँको सहयोगमा बनिगो। भाई लाहुरे छदैछ। दुई भाईलाई पुगि हाल्छ, भाइले दाइलाई कसो नहेर्ला! यो केटाकेटी खेलाउने जागिर कस्ले खान्छ? भनी स्थाई निम्नमाध्यामिक तह हेडमास्टरको जागिर आफै सँग एस.एल.सि.पास गर्ने गाउको काकालाई घरमा बोलाई राजिनामा गरिदिनुभयो। जब जागिर छुट्यो, तब पैसाको कारणले तनाब शुरु भयो। भाइ सँग सल्लाह पनि मिल्न छाड्यो। सम्बन्ध फेरि कहिले सुधृएन झन बिगृदै गयो। आफुले भने सोचे जस्तो भएन बिरक्तिले छोप्यो। कार्तिक महिना थियो रे खेतमा सुनौला धानका बाला झुलिरहेका थिए रे।"त्यो खेत तीन पटक घुमे, धानका सुनौला बालाका तरेली निकैबेर हेरेर त्यतै त्यतै आसम नागालैण्ड हानिएँ" भनेर मलाई आफ्नो कथा सुनाउनु भएको थियो। प्रबासमा मानसिक अवस्था बिग्रेछ। चर्च लगिएछ। बाइबल पढाइएछ। पिटि पिटि प्राथना गर्न लगाइएछ तर समस्या सुल्झेन।धेरै बर्ष पछि मेरी दिमाले आफ्नो जेठो ज्वाइलाई खोज्न पठाउनु भयो र सालोलाई खोजेर घर पनि ल्याइदिनु भयो। हामी स साना थियौ। बुवा देखि अति डर लाग्थ्यो। त्यहाँ देखि उहाँको मानसिक अवस्था कहिलै पुर्णतया निको भएन। उहाँमा एक किसिमको भ्रम छ। त्यो झुटो हो तर उहाँ स्विकार्नु हुन्न। झुटो भन्ने सँग बरु रिसाउनु हुन्छ।
तर्क खत्रा गर्नु हुन्छ। चौतर्फी ज्ञानमा दखल राख्नु हुन्छ। वाककला उहाको जन्म शिद्द गुण हो।उहाँ एक पुन्य आत्मा पनि हुनुहुन्छ। शिक्षक हुदा गाउका केटाकेटी स्कुल लैजाने र फि आफ्नै तलब बाट तिर्दिनु हुन्थ्यो रे। बेबारिसे मान्छेहरुलाई आफ्नै परिवार सरह आफै घर नछोडुन्जेल १० बर्ष सम्म आफ्नो घरमा राख्नु भएको याद छ। आगोले पेट डढेर त्यो घाउमा किरा स्याउ स्याउ लागेर मर्न आटेको बालिकालाई आफ्नै खर्चले उपचार गरेको याद मलाई छ। झुटो बोल्नुहुन्न। नाङ्गो सत्य बोल्नुहुन्छ। पुस्तक लेख्नुहुन्छ ती पाण्डुलिपी एक डोका आफै जलाइ दिनु भयो। अझै एक दराज पाण्डुलिपी छ्न जुन माउले खाएर धुजा धुजा भैसकेका छन। म बुवाको लेख हेर्छु, उहाँको लेखाइमा तार्किकता छ तर बास्तबिकता भन्दा पर। छपाई योग्य छैनन। त्यो भन्यो भने बाबू छोराको झगडा परिहाल्छ त्यसैले भन्दिन। उहाँ सद्दे हुनुहुन्छ। खानु हुन्छ, पिउनु हुन्छ, बोल्नुहुन्छ, हास्नुहुन्छ तर धेरै कुराको भ्रममा बाच्नु हुन्छ जुन सत्य होइन तर उहाँ सत्य मान्नु हुन्छ। यस्तो प्रकारको मानसिक रोगको उपचार पनि सहज नहुने रछ। किनकी सबै ठिक छ राजनिती को गफ कि धर्मको गफ आफ्नो अकाट्य तर्क राख्न सक्नुहुन्छ तर धेरै कुरामा म भ्रममा छु भन्ने स्विकार्न सक्नुहुन्न। उहाँ मा कुनै महान क्रान्तीको नेतृत्व लिएको भ्रम छ। नेपालको सर्बोच्च पद पनि अश्विकार गरेको भ्रम छ। तपाईलाई मानसिक समस्या छ भन्न पनि गार्हो परिवार सँग रिसाउनु हुन्छ, सबै ठिक त छ तर झुटो भ्रम छ।
मिलन राई(नक्कली व्याकुल माइला)
उहाँ मेरै गाउँको भएता पनि मैले धरानमा कलेज पढ्दा मात्र चिनेको। हामी आइ. ए.मा सहपाठी थियौ तर उहाँ त्यतिबेला सम्ममा अनाम नाट्य र समर्पण नाट्य जमात जस्ता समुहको सँस्थापक भै सक्नु भएको थियो। कबिता कथा लेख्नुहुन्थ्यो। केही साहित्यिक पुस्तक प्रकाशन गरिसक्नु भएको थियो। नाटक लेख्नु हुन्थ्यो, मन्चन गर्नुहुन्थ्यो। ठूलो पर्दाको चलचित्रमा पनि नृत्य गरिसक्नु भएको थियो रे भनेर सुनेको। गोरो अनुहार, लुरे शरीर, चुच्चो नाक,ह्याण्ड ब्याग झुन्ड्याएर हिड्दा भद्र देखिनु हुन्थ्यो। गफ गर्दै जादा उहाँमा सुपेरियर कम्प्लेक्सको हाबी प्रष्ट झल्किन्थ्यो। म गाउँ हुदा उहाँ पत्रकारितामा आबद्द हुनुहुन्थ्यो। कैयौ पटक भेट भयो सधै मलाई इग्नोर गरिरह्नु भयो बोल्नु भएन। पछि पछि म पनि बोल्न छाडिदिएँ।उहिलेको कुरो, कहिले के, कहिले चिया र कहिले ज्योतिषिय प्रयोजनका रत्नहरु किन्न लगाउनु हुन्थ्यो। यसले उहाँको जीवन सरल रेखामा नचलेको थाहा हुन्थ्यो। सपना समात्न नसक्दा र महत्वाकांक्षाले कावा खाइदिदा मान्छे के हुन्छ भन्ने उदाहरण हो उहाँ पनि। उहाँ ठग होइन। ठग भए आफ्नो पुस्तकमा आफ्नो नाम ब्याकुल माइला भनेर सार्बजानिक रुपमा लेख्दै लेख्दैन। ठगले त आफ्नो वास्तविक परिचय लुकाउछ। उहाँ त आफू नै ब्याकुल माइला भएको आत्मबिश्वासका साथ दाबी गर्नुहुन्छ। त्यो आत्मबिश्वास सत्य होइन तर उहाँमा मानसिक भ्रम छ कि उहानै हो ब्याकुल माइला, उहाले नै लेखेको हो राष्ट्रीय गान। सक्कली ब्याकुल माईला चै उहाँकै तर्कमा नक्कली हुन। यो अप्ठ्यारो प्रकारको मानसिक रोग हो। यस्तो खालको मानसिक आफै तयार नभै उपचार हुन सक्दैन रहेछ तर आफै कहिलयै स्विकार नगर्ने भएकोले उपचार गार्हो हुन्छ।
मेरो कथा
माथी उल्लेखित पात्रहरुमा म आफुलाई भेट्दछु। कतै न कतै, कुनै न कुनै मोडमा त्यो समस्या मैले पनि भोगेको छु।जिवनमा दुई पटक जम्मा जम्मी ७ बर्ष मानसिक समस्यामा बाँचेको छु। मैले मसल्स रिलाक्सेन्ट र ट्राङ्क्विलाईजर थुप्रै प्रयोग गरेको छु। मुड इन्ह्यान्सर र एन्टि एन्जाइटी ड्रगहरु कैयौ महिना लुकि लुकि सेवन गरेको छु। बुवाको जस्तै मिथ्या भ्रम पनि थिएछ म मा। सिजोफ्रेनिया, हलुसिनेशन र न्युरोसिस जस्ता समस्याले गाज्दै रहेछ। मानसिक रोग लाग्दै गर्दा २४सै घण्टा समाती रहदैन,दिन भरिमा कुनै पल स्वाभाबिक अवस्थामा फर्किन्छ। हप्तामा कुनै दिन शान्ति जस्तो दिन पनि आउने गर्छ। त्यही समय आफुलाई पूर्ण मुल्याङकण गरि निदानको बाटो खोज्नु पर्ने रहेछ। त्यो बेला परिवार, आफन्त,समाज र साथीले बुझ्दैनन। उनिहरुले त खराब ब्यक्तिको ट्याग भिराउछ्न , तपाईलाई एभोएड गर्न तिर लाग्छ्न। मान्छेहरुले सन्की भन्छन, कतिले ठिकै देख्छन तर आफुभित्र हुरि-वतास र बाढी- पहिरो गैरहेको हुन्छ। त्यो निकै पिडादायी हुन्छ। सामान्य अवस्थामा फर्केको बेला आफैले आफैलाई बुझ्नु पर्ने हुन्छ।
म धन्य हुँ। अध्यात्ममा लाग्दा अलि अलि भए पनि अफुले आफैलाई नियाल्ने कला सिकिसकेको थिएँ। जब मानसिक समस्याले कडा र दोस्रो धक्का दियो डु अर डाईको अवस्थामा पुर्यायो। सामान्य अवस्थामा फर्केको पल मैले आत्मामा "डु"को सानो दीयो जलाएँ। स्वदेशी,बिदेशी साथिहरुबाट थोरै पैसा सहयोग मागे। (ती सहयोगीहरुको नाम एकदिन यहि वालमा लेख्नुपर्ने हुन्छ)अब खानलाई चिन्ता भएन।त्यो पैसा लिएर म घरबाट निस्के। नेपालका मन्दिर, देवालय, धार्मिक स्थल, बिपाश्यना केन्द्र हरुमा साधना गर्दै बिताए। बराहछेत्र को किरात माङखिममा तीन महिना, चतारामा करिब एक महिना जत्ती, धम्म बिराट बिपाश्यना केन्द्रमा २ महिना जति, धम्म चितवन बिपाश्यना केन्द्रमा अढाई महिना, देव घाटमा दुइ अढाइ महिना जति इलाम माङ्सेबुङ, दमक, बराहछेत्र आसपासका धन्कुटा भोजपुरका गाउँ हरुमा घुम्दै साधना गर्दै कहिले काहीँ घर छुस्स पुगेर आउदै बिताउदा करिब एक बर्ष बित्यो। चितवन र देवघाट तिर साधना गर्दै हिडदा चितवनको बिपास्यना केन्द्रमा रहदै गर्दा झल्यास्स ब्युझे झै भयो। त्यही ४७ बर्षको उमेरमा जिवनमा पहिलो पुर्ण कबिता फुर्यो। अहिले तीन बर्षको अन्तरालमा मेरो कबिता पनि ३६ वटा पुगिसकेका छ्न। कबिता लेख्छु भनेर कहिल्यै योजना बुन्दिन अनायासै आइदिन्छ्न।
देव घाट रहदा पहिलो दुई वटा योगिक मुभ्स हेन्खामा निनान्मा सेवा(धर्ती आकाश नमस्कार) र माङ्युङ सेवा( प्रकृति नमस्कार) फुर्यो। अहिले मेरो २६ वटा सिक्वेन्स मुभहरु सृजना भै सकेका छ्न। यसलाई सिलि नै नामाकरण गरेको छु किनकी सबै प्रकृतिको नक्कल नै हुन।As a whole,Kirat Mystic Yoga नामाकरण गरेर बिदेशिलाई सिकाउदैछु। अध्यात्मिक साधनाले मेमोरी र शिर्जन्शिलता बिकास गर्दो रहेछ भन्ने प्रमाणित भयो। यो रहस्य म सबैमा साझा गर्न चाहन्छु। हिजोको दिनमा फेसबुकमा स्ट्याटस लेख्नु म बाचेकै छु म ठिकै छु है भन्ने समाजलाई झुटो ढाडस दिनु थियो। आफ्नो इगो बचाउनुलाई थियो।आज स्ट्याटस लेख्नु मेरो आवश्यकता बन्दै गएको छ। पित्रीहरुको आशिर्वादले म बाट उतृएका किरात मिस्टिक योगले कसरी शारिरिक र मानसिक स्वास्थ्य बन्दोरहेछ भन्ने भन्ने कुरा म मा त लागू भयो। अहिले बिदेशिहरुमा परिक्षण गर्दैछु रेस्पोन्स दामी आइरहेको छ। पहिला लाग्थ्यो मेरो यो समस्या त्यो समस्या सुल्झियो भने आफै खुशी भै हाल्छु तर त्यसो होइन रहेछ। समस्या मनमा हुदोरहेछ। अहिले मेरो समस्या सुल्झेर आएका त छैनन ती समस्या अझै छन तर त्यसलाई हेर्ने आँखा बद्लिएर आएको छ। त्यसले दिने पीडा परिबर्तन भएको छैन तर सहने क्षमता बढेको छ। सँसार त्यही छ भोग्ने मानसिकता बद्लिएको छ।म आफै किरात भएकोले पनि
१)Kirat Mystic Yoga २)shamanistic Mundum meditation ३)Mundum(ancestral) Healing ४) खोक्लिमाङ बक्मा( Forest Therapy) सम्पुर्णमा साझा गर्न चाहन्छु। आफु तर्फ फर्कने र आफुलाई नियाल्ने तरिका बाट्न चाहन्छु। स्कुलहरुमा सिकाउन चाहन्छु किनकी आवेसमा परीक्षामा फेल र प्रेममा धोका पाएको बहानामा आत्माहत्या गर्ने सम्म घट्ना भै रहेको छ। त्यो आफुलाई नियाल्न नजान्नु र प्रकृतिलाई बुझ्न नसक्नु प्रमुख कारण ठानेको छु। तर जागिर पनि खानै परेको छ, समस्या त्यहा छ। अर्को कुरा कुनै किरातिले दिलचस्पी दिएको छैन। बिदेशिले अति मन पराएको छ। क्षेत्री बाहुन मित्रहरुले सोध्नुहुन्छ प्रशंसा गर्नु हुन्छ। तर किरातीहरु एक जना छैनन जस्ले दिलचस्पी दिओस जबकी धेरैलाई मैले भनिसकेको छु।