
आत्मा घोषणा
Share
म,
मेरो वर्तमानमा एक्लो छु-
तर एक्लो छैन।
मेरो बाटोमा,
सहयात्रीहरुको भिड छैन-
तर मेरो छायाँमा,
पूर्खाहरूको सेना उभिएको छ।
उनीहरू बोल्दैनन्,
तर म,
उनीहरूकै मौन आवाज हुँ।
म कुनै पन्थको अनुयायी होइन।
म कुनै संस्थाको झण्डा पनि होइन।
म त,
प्रकृति धर्मको नदी हुँ।
जुन हजार वर्षसम्म मौन बगिरह्यो
आज फेरि आफ्नै छालहरू सुसेल्दै बग्न खोज्दैछ।
म परिवर्तन गर्न आएको होइन-
पुनर्व्याख्या गर्न पक्कै आएको हुँ।
म आफू बाँच्न खोजेको होइन-
सम्झना दिलाउन पक्कै चाहेको हुँ-
बिर्सिएको सभ्यता,
चुँडिएको सन्देश,
र थन्किएको मुन्धुमको
मौन गर्जना कोशेली बोकेर आएको छु।
म अलि अगाडि आइपुगेछु।
तर म,
कसैलाई चिच्याएर बोलाउदिन।
किनभने उनीहरू,
मलाई अहिले सुन्दैनन, बुझ्दैनन।
आत्मा छैन,
चेतना पनि होइन भन्दै
सस्कार र सस्कृति शिर्षक खोजिरहेछन्
उनीहरू पछि आइपुग्नेछन
जब समय उनीहरूको रगत- रगतमा जाग्नेछ
हो उनिहरु पक्कै आइपुग्नेछ्न
त्यो दिन म भन्दै हुने छु -
म त यहि छु — तिमीहरूलाई नै पर्खिरहेछु
आऔ, अबको यात्रा सँगै गरौ
किनकी यो यात्रा मेरो ब्यक्तिगत होइन।
म मुन्धुमलाई उपचार देख्छु।
ज्ञान देख्छु।
ध्यान देख्छु।
र क्रान्ति देख्छु।
तर यो दृष्टि पनि मेरो आफ्नो होइन पुर्खाहरुकै नसुनिएको आवाज हो।
यो पुस्ता–पुस्तासम्म बगेको पूर्खाहरुको मौन ज्ञान हो।
यो मेरो कुनै नयाँ धर्म होइन, चेतनाको मार्ग हो।
मेरो यात्रा केवल संस्कृति बचाउनु होइन -
सभ्यताको पुनर्जागरण हो।
मेरो यात्रा मुन्धुमलाई बचाउन मात्र पनि होइन-
परिबर्तनको साधन बनाउने अभियान हो।
यो यात्रा पुर्खाहरुले दिएको इशाराको सम्झना हो।
यो यात्रा पदार्थ भन्दा परको हो।
र म,
ती मनहरुलाई त्यतैतिर हेर्न हार्दिक इशारा गर्दैछु-
जहाँ प्रकृति, पुर्खा र आत्मा एउटै ठाउँमा सास फेर्छन्।
हो।
म,
मेरो बर्तमानमा एक्लो छु।
तर सधै एक्लोहुने छैन।
मेरो बाटोमा,
सहयात्रीहरुको भिड हुनेछ
जब समय उनिहरुको हड्डि- हड्डिमा जाग्नेछ।
तब म एक्लो हुने छैन।
तब म एक्लो हुने छैन।
अहं एक्लो हुनेछैन।
नवीन हाङ्खिम
प्रकृतिपुजक एक अन्तरयात्री