आशङ्काका घण्टीहरु एउटा पुनरावृत्तिको स्वरमा !  उषा शेरचन

आशङ्काका घण्टीहरु एउटा पुनरावृत्तिको स्वरमा ! उषा शेरचन


बेहिसाब बीउ रोप्दैछन्

आजकल घट्नाहरूले

बेहिसाब निहुँ खोज्दैछन्

आजकल घण्टीहरूले

शंका उपशंकाका घण्टीहरू  

ध्वंस विध्वंसका घण्टीहरू

अवरोध प्रतिरोधका घण्टीहरू

नम्बर बेनम्बरका घण्टीहरू

प्रतिदिन बज्छ यहाँ

प्रतिरात बज्छ यहाँ

कानका जाली नै फुटाउलाझैं गरी

मौका बेमौकामा बजिदिने घण्टीहरूबाट

सशंकित भइसकेका छन् मान्छेहरू

ठाडा भइसकेका छन् कानहरू

कतै, जगंबहादुरको पुनर्जन्म

-भयो कि भनेर

कतै, कोतपर्वको पुनरावृत्ति

-होला कि भनेर

हैन......हैन.......

पुनर्जन्म हुनु हुँदैन अहिले नै

-जगंबहादुरको

हैन...... हैन...

पुनरावृत्ति हुनु हुँदैन अहिले नै

-कोतपर्वको

कोतमा पोखेको रगत पनि अझै

ओभानो भइसकेको छैन

कोतमा बगेको रगत पनि अझै

गन्हाउन छाडेको छैन

न्याय माग्दै छन् अझै/ बिचरा रगतहरूले 

हक खोज्दै छन् अझै/बिचरा रगतहरूले 

यो कस्तो आगमन हो कुन्नि?

यो कस्तो प्रत्यागमन हो कुन्नि?

हावाका झोक्का सँगसँगै

-दौहिरहेछन् सबै

ऋतुसँगसँगै

-बदलिइरहेछन् सबै

रक्षा प्रतिरक्षाको लागि 

कुनै कवच कुण्डली छैन

घात प्रतिघातको लागि 

कुनै क्षमादान छैन

सत्ययुग हैन कलियुग हो यो 

बरदान हैन सराप हो यो

जीवन हैन अभिशाप हो यो

त्यसैले थुप्रैथुप्रै गाली दिन मन लाग्छ

प्यारो पेन्डोरालाई

बन्द बाकस खोलिदिएकोमा !

त्यसैले थुप्रैथुप्रै गाली दिन मन लाग्छ

प्यारो युधिष्ठिरलाई

बाँधिएको भेडा फुकाइदिएकोमा !!

(मेरो पहिलो कवितासङ्ग्रह ' नजन्मेका आस्थाहरू' बाट झन्डै झन्डै आधा शताब्दी अघि लेखेकी हुँ मैले यो कविता यो कवितामा मैले स्पष्टसँग कोतपर्वको पुनरावृत्ति हुनुहुँदैन भनेकी रहिछु तथापि राजदरबार हत्याकाण्ड भइछाड्यो यसपटक फेरि निहत्था जेनजी काण्ड सत्ताले सधैँभरि रगत नै माग्दोरहेछ कि क्या हो ? अझै पनि केके हुने हो?  केही पत्तो छैन )

Back to blog

Leave a comment